सहमति नजुटेका स्थानीय तहमा केन्द्रले हस्तक्षेप गर्नु विधानविपरीत : गगन थापा

0

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनावमा एक्लै लड्ने कि गठबन्धन दलहरूसँग तालमेल गर्ने भनेर निर्णयमा पुग्न अब ढिला नगर्न आग्रह गरेका छन् ।

आइतबार बुढानिलकण्ठ नगरपालिका–२ मा आयोजित कार्यक्रममा उनले पार्टीको केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकताअनुसार चुनावी तालमेल गर्न सक्ने भन्ने निर्णय गरेको स्मरण गराउँदै माथिबाट निर्णय हुन्छ भनेर अलमलमा परेर नबस्न समेत आग्रह गरे ।

महामन्त्री थापाले तालमेल गर्ने सहमति नजुटेका स्थानीय तहमा केन्द्रले हस्तक्षेप गर्नु विधानविपरीत हुने बताए ।

नेता थापाले स्थानीय तहमै उम्मेदवार चयन गर्नुको सट्टा माथिबाट तय हुन्छ भनेर आश गर्नु स्थानीय चुनावको मर्म विपरीत हुने बताए ।

स्थानीय नेता कार्यकर्ताको भावना र अवस्थाअनुसारै गठबन्धन गर्नुपर्छ भनेर नै केन्द्रले अवस्था हेरेर तालमेल गर्न सक्ने भन्ने निर्णय गरेको नेता थापाको भनाइ छ ।

कार्यक्रम भएको वडामा अर्को वडाका उम्मेदवार देखेपछि महामन्त्री थापाले समय खेर नफाल्न समेत स्मरण गराए ।

महामन्त्री थापाले केन्द्रले उम्मेदवार चयन गर्ने महानगरपालिका र उपमहानगरपालिकाको हकमा समेत पार्टीका स्थानीय कार्यसमिति र प्रदेश कार्यसमितिहरुको धारणा लिएर मात्रै उम्मेदवारीको टुंगो लगाइनुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.