बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन स्वामी आनन्द अरुणले गरे आह्वान

0

काठमाडौं : ओशो तपोवनका संस्थापक बोधिसत्व स्वामीआनन्द अरुणले  बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन आह्वान  गरेका छन् । 

नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते टुंडिखेलमा आयोजित ध्यान उत्सवलाई सम्बोधन गर्दै स्वामी अरुणले भारतका प्रधानमंत्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्र संघले २१ जुनलाई विश्व योग दिवसको रुपमा मनाउन थालेको स्मरण गरे।

“हामीले पनि बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन पहल गर्नुप-यो। त्यसो भयो भने अन्तर्राष्ट्रिय ध्यान केन्द्रको रुपमा संसारभरि नेपालको पहिचान हुनेछ,” उनले भने।

नेपाल एक देव भूमि र पुण्य भूमि हो भन्दै स्वामी अरुणले नयाँ वर्षमा नेपालले आफ्नो गरिमा प्राप्त गर्न सकोस् भन्ने शुभकामना पनि दिए।

“चियामा एक चम्चा चिनी राख्दा गुलियो भए जस्तै राजनीति, व्यापार, व्यवसाय लगायत जीवनका हरेक पक्षमा एक चम्चा ध्यान राख्नु भयो भने जीवन सार्थक हुन्छ,” उनले भने।

उपराष्ट्रपति नन्द बहादुर  पुनले औपचारिक उद्घाटन गरेको उक्त समारोहलाई सम्बोधन गर्दै संचार  मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले मानसिक तनावले हाम्रो अमूल्य जीवनलाई निरर्थक बनाउने भएकाले योग र ध्यानको अभ्यास गर्न सुझाव दिए ।  उनले स्वामी अरुण त्याग, तपस्या र विद्वत्ताको त्रिवेणी भएको बताउदै उहाँको सपना पुरा गर्न आआफ्नो ठाउंबाट योगदान गर्न आग्रह गरे। 

कार्यक्रममा पद्मश्री सम्मानबाट सम्मानित प्रख्यात भारतीय लोक गायक प्रह्लाद टिपण्या र उनको टोलीले कबिर भजन सुनाएका थिए।  त्यस्तै चर्चित कलाकारहरु मनोज गजुरेल, बेनिशा पौडेलका साथै कुटुम्ब ब्याण्डले रोचक प्रस्तुति दिएका थिए।  कार्यक्रममा सामूहिक कुण्डलिनी ध्यान पनि गरिएको थियो । 

 ध्यान, नृत्य र उत्सवका साथ नयाँ वर्षको शुरुवात गर्ने लक्ष्यसहित ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा उक्त समारोहको आयोजना गरिएको स्वामी आनन्द अर्हतले जनाए। 

Leave A Reply

Your email address will not be published.