नयाँ वर्ष २०७९ शुरु

0

काठमाडौं : बिहीबारदेखि नयाँ वर्ष २०७९ शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । 

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् । 

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ । 

सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । यस दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । 

नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ । 

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नयाँ वर्ष आरम्भका अवसरमा बिहीबार नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ ।

Leave A Reply

Your email address will not be published.