नयाँ वर्षको अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना दिदै उनले हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएकी हुन् ।

ठूलो संख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गर्नु नहुने राष्ट्रपति भण्डारीको भनाइ छ ।

जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन संघीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा उनले आह्वान गरेकी छन् ।

वैशाख तीस गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पनि राष्ट्रपति भण्डारीले आह्वान गरेकी छिन् ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न आग्रह गरेका छन ।

नयाँवर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वेपरी लक्ष्य रहेको बताएका हुन् ।

मुलुकको साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचार र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने शुभकामना सन्देशमा उल्लेख छ ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै जनताको विकास र समृद्धि को आकाङ्क्षालाई यथाशीघ्र पूरा गर्ने अभियानमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सफलता मिलोस् भन्ने कामना समेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.