मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री खतिवडा

0

काठमाडौँ (जीएनएन ) : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिड पछि उत्पन्न मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सरकारले प्रथामिकता दिने बताएका छन्।

मंगलबार मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था, ह्याप्पी माइन्ड्स, को ज्ञापनपत्र बुझे पछि बोल्दै मन्त्री खतिवडाले त्यस्तो बताएका हुन्।

आउंदो आर्थिक वर्षका लागि संसदमा प्रस्तुत हुने  नेपाल सरकारको नीति तथा कार्यक्रममा पनि मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने विषय समेटिएको उनले बताए। 

खास गरी कोभिड पछि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बारे सरकार जानकार रहेको र उक्त समस्याको रोकथाम तथा समय मै पहिचान गरी स्वास्थ्य संस्थाहरु मार्फत परामर्श तथा उपचारको व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिइ सकेको पनि मन्त्री खतिवडाले बताए।

ज्ञापनपत्र बुझाउदै ह्याप्पी माइन्ड्स, की संस्थापक तथा सीइओ श्रीया गिरीले  कोभिड-१९ महामारीले ल्याएको बढ्दो मानसिक स्वास्थ्य संकटले गर्दा आत्म-हानि लगायतका मानसिक रोगहरूमा उल्लेखनीय वृद्धि भएको जनाइन्। मानसिक स्वास्थ्यमा सुधार ल्याउनको लागि मानसिक स्वास्थ्यको जागरूकता अत्यन्त जरुरी छ भन्दै गिरीले आगामी वर्षको बजेटमा मानसिक स्वास्थ्यको लागि बढि बजेट छुट्याउन आग्रह समेत गरिन। 

 २० जना भन्दा बढी मानसिक स्वास्थ्य विशेषज्ञहरू रहेको ह्याप्पी माइन्ड्सले अनलाइन तथा प्रत्यक्ष परामर्श सेवा प्रदान गर्दै आएको उनले बताइन्। 

मद्दत खोज्ने व्यवहारलाई प्रोत्साहित गर्न, ह्याप्पी माइन्ड्सले कर्मचारी सहायता कार्यक्रम ल्याएको छ जसले कर्पोरेट र अन्य संस्थाहरूलाई आफ्ना कर्मचारी र विद्यार्थीहरूलाई आपतकालीन घटनाहरूको लागि हटलाइन सेवाको साथमा नि:शुल्क मानसिक स्वास्थ्य सेवा प्रदान गर्दछ  ।

“आगामी वर्ष हामी मानसिक स्वास्थ्य सचेतना फैलाउन र आत्म-जागरूकता बढाउनका साथै आपत्कालीन मानसिक स्वास्थ्य स्थितिमा कसरी प्रतिक्रिया गर्ने विषयमा कार्यक्रमहरू सुरु गर्न थप सरकारी स्थानीय निकायहरूसँग काम गर्न चाहन्छौं,” गिरीले भनिन्।

Leave A Reply

Your email address will not be published.