स्थानीय निर्वाचनमा नेपाली काङ्रेसलाई जिताउन प्रबासमा रहेका कार्यकर्ता सकृय, नेपाली कांग्रेस प्रवास समन्वय प्रचार-प्रसार उपसमितिको पहिलो बैठक सम्पन्न,

0

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार-प्रसार उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ। उप समितिका संयोजक एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा सोमवार सम्पन्न बैठकले प्रचार प्रसारलाई प्रभावकारी बनाउन सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ।

बैठकमा कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक डाक्टर प्रकाशशरण महतले उप समितिको जिम्मेवारी र पार्टीले उप समिति मार्फत अपेक्षा गरेका विषयमा प्रकाश पार्नु भएको थियो। उहाँले पार्टीले सुम्पिएको जिम्मेवारीलाई बहन गर्न सबैलाई जिम्मेवार भएर सक्रिय हुन निर्देशन समेत दिनुभयो।

‘हामी चुनावमा होमिएका छौं, देश बाहिर रहनु भएका तपाईंहरु मध्ये कतिपय त स्वदेशमा पनि आइसक्नु भएकोछ । आफ्नो अनुकुल मिलाएर स्वदेश फर्केर कांग्रेसलाई सहयोग गर्नुस्, त्यो सम्भव छैन भने आफु बसेकै ठाउँबाट आफ्नो गाउँघर,टोल,समाजका आफ्ना आफन्तलाई कांग्रेसका उम्मेदवारलाई मत दिन विभिन्न माध्यममार्फत अनुरोध गर्नुस्,पार्टीको नीति अनुसार प्रचार-प्रसारमा सक्रिय रहनुस्, देश बाहिर रहेता पनि तपाईंहरुको भूमिका अत्यन्त महत्वको रहेकोछ ।

पार्टीका लागि आ-आफ्नो तहबाट सबैले योगदान गर्नुस्’ नेता महतले बैठकका सहभागीहरुलाई सम्बोधन गर्दै भन्नुभयो।


पहिलो बैठकले पार्टीको केन्द्रीय नेतृत्वलाई यसरी प्रवास समन्वय प्रचार उपसमिति गठन गरी जिम्मेवारी प्रदान गरेको भन्दै आभार व्यक्त गरेको छ। यो उपसमितिमा जनसम्पर्क समितिका सबै देशका सभापतिहरु पदेन सदस्य रहेका छन्। यसैगरी विभिन्न देशका निवर्तमान नेतृत्व तहका पदाधिकारी र जनसम्पर्क समिति मार्फत क्रियाशील रहेकाहरु सदस्य रहेका छन्। उपसमितिमा विभिन्न देशका ८४ जना सदस्य रहेका छन्।

यसैगरी उप समिति अन्तर्गत प्रवास मिडिया समन्वय संजाल पनि गठन गरिएको छ, जसमा विभिन्न देशका १२ जना कांग्रेस निकट संचारकर्मीहरु रहेका छन।


बैठकले उपसमितिका सदस्य नाइजेरियामा रहेका हिक्मत थापालाई आर्थिक संकलन र परिचालनको लागि संयोजन गर्ने जिम्मेवारी दिएको छ। यसैगरी कतारमा रहेका अर्का सदस्य बिमल सुबेदीलाई सामाजिक संजाल र अन्य माध्यममार्फत पार्टी नीति विपरित समितिका सदस्यहरुले गर्ने गतिविधिका विरुद्ध खबरदारी गर्न,त्यसो गरेमा सचेत गराउन र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन अनुशासन समितिको संयोजकको रुपमा काम गर्ने जिम्मेवारी दिएको छ।

जनसम्पर्क समिति,कतारका सभापति अजीज अलीलाई प्रचार सामाग्रीको डिजाइन गर्ने गरी टिकटकलगायतका डिजिटल प्रचार सामाग्री तयारीको जिम्मेवारी दिएको छ।


यसैगरी बैठकले प्रबासमा रहेका सबै नेपाली जनसम्पर्क समितिहरुले तत्काल आ-आफ्नो देशमा प्रचार प्रसार समिति गठन गर्ने निर्णय समेत गरेको छ। बैठकमा नेपाली जनसम्पर्क समितिका तर्फबाट महाधिवेशन प्रतिनिधि रहेका सबै सदस्यलाई यस उपसमितिमा थप गर्न पार्टी प्रवक्ता एवं प्रचार प्रसार समितिका केन्द्रीय संयोजक डाक्टर प्रकाशशरण महतलाई अनुरोध गर्ने निर्णय समेत भएको छ।

नेपालको मतदाता सूचीमा नाम रहेका तर हाल प्रवासमा रहेका आफ्नो पार्टीका मतदाताहरुलाई स्वदेश फर्केर चुनावमा मतदानका लागि अभिप्रेरित गर्ने निर्णय गरिएको छ भने हाल नेपालमा रहेका जनसम्पर्क समितिका विभिन्न देशका सदस्यहरु र यस उपसमितिमा रहनु भएका सदस्यहरुको राजधानीमा तत्काल भेला गरी एक प्रेस भेटघाट कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।

बैठकमा उपसमितिका सदस्यहरु (विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरु), उप समिति अन्तर्गतको प्रवास मिडिया समन्वय संजालका संयोजक र सदस्यहरु सहभागी थिए

Leave A Reply

Your email address will not be published.