सत्ता गठबन्धन चुनावी तालमेल : शक्तिका आधारमा भागबण्डा

0

काठमाडौं : सत्ता साझेदार दलहरुको मंगलबार साँझ बसेको बैठकले स्थानीय चुनावको भागबण्डा मिलाउन स्थानीय तहलाई आगामी ४ वैशाखसम्मको समय दिएको छ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका अनुसार, साझा उम्मेद्वार तय गर्न स्थानीय नेताहरुलाई थप समय दिइएको हो । यसअघि २५ चैतसम्म स्थानीय नेताहरुलाई तालमेलको प्रयास गर्ने समय दिइएको थियो । 

तर कतैबाट पनि साझा उम्मेद्वार सिफारिस भएनन् । यसपछि बालुवाटारमा लगातार तीन दिन सत्ता साझेदार दलको बैठक बसेको थियो । सत्ता साझेदार दलहरुको बैठकले पनि सहमति जुटाउन सकेन । आइतबार र सोमबार सहमति नजुटेपछि मंगलबार फेरि सत्ता साझेदार दलहरुको बैठक बोलाइएको थियो । 

तर सोमबार संयुक्त बक्तव्य जारी गरेको सत्ता गठबन्धनले मंगलबार कुनै निर्णय लिन सकेन । सोमबार संयुक्त अपिल जारी गरेर गठबन्धनका उम्मेद्वार जिताउनेगरी लाग्न आह्वान गरिएको थियो । ‘हिजोका सबै आपसी मतभेदलाई पर पञ्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न प्रण गर्दछौं’, अपिलमा भनिएको थियो । त्यो बैठकले देशैभर ठाउँ र अवस्था अनुसार तालमेल गर्न अपिल गरेको थियो । 

मंगलबारको बैठकले भने ठाउँ र अवस्थाबारे आधार तयार पारेको छ । बैठकले एकीकृत समाजवादीले अघिल्लो चुनावमा भाग नलिए पनि एमालेकै शक्तिका रुपमा स्वीकार गर्ने भएको छ । त्यसो हुँदा अघिल्लो पटक पाएको मतधारलाई नै आधार मानेर साझा उम्मेद्वार तय गर्ने मापदण्ड गठबन्धनको बैठकले तय गरेको छ । 

ती आधारमा एकीकृत समाजवादीमा गएका जनप्रतिनिधिलाई स्वीकार गरिने भएको छ । एमालेले जितेपनि त्यहाँ प्राप्त गठबन्धनको मताधारका आधारमा तालमेलको शक्ति सन्तुलन मिलाइने भएको छ । तर महानगरको निर्णय भने केन्द्रबाटै हुने भएको छ । 

२०७४ को निर्वाचनमा कांग्रेस एमालेकै हाराहारीको शक्ति हो । ७५३ मध्ये एमालेले २९४ स्थानीय तह जित्दा कांग्रेसले २६६ स्थानीय तह जितेको थियो । अधिकांश स्थानमा कांग्रेस दोस्रो शक्ति हो । तर गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र भने निकै सानो आकारको तेस्रो शक्ति हो । जनता समाजवादी पार्टी मूलतः तराई÷तराईका जिल्लामा प्रभाव पार्ने राजनीतिक शक्ति हो ।

एमालेबाट अलग भएर गएको २ भदौमा मात्रै बनेको नेकपा एकीकृत समाजवादीसँग जनप्रतिनिधि संख्या अत्यन्तै न्यून छ । एमालेबाट १० प्रतिशत जनप्रतिनिधि एकीकृत समाजवादीमा गएको अनुमान गरिएको छ । एमालेबाट गएको चुनावमा १४ हजार बढी जनप्रतिनिधि जितेका थिए । यसको अर्थ १४ सय जति जनप्रतिनिधि एकीकृत समाजवादीसँग छ । कांग्रेसबाट ११,४१४ जनप्रतिनिधि निर्वाचित भएका थिए । माओवादी केन्द्रबाट ५,४४२ जना प्रतिनिधि जितेका थिए । 

त्यसबेला पनि कांग्रेस र माओवादी केन्द्रबीच कयौं स्थानीय तहमा गठबन्धन बनेको थियो । तत्कालीन संघीय समाजवादी फोरमबाट १,४३९ जना प्रतिनिधि निर्वाचित भएका थिए । अवस्था हेरेर तालमेल गर्नुको अर्थ लगभग झण्डै दुई तिहाइ स्थान कांग्रेसलाई दिनुपर्ने हुन्छ । अझ एमालेले जितेको ठाउँमा पनि कांग्रेस दोस्रो शक्ति हो । 

Leave A Reply

Your email address will not be published.