राष्ट्रियसभाका मनोनीत सदस्य दाहालले लिए शपथ

0

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । 

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन् ।

शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए । अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिए । 

शपथ ग्रहणपछि दाहालले आफुले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताका लागि भूमिका खेल्ने बताए । बजेटलाई देशको समृद्धिको पक्षमा लगाउनु पर्ने उनको भनाइ थियो ।

शपथ ग्रहण कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम लगायतको उपस्थिति थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन् । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

Leave A Reply

Your email address will not be published.