गभर्नर अधिकारी निलम्बित

0

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । अर्थ मन्त्रालयले अधिकारीमाथि अनुसन्धान गर्न जाँचबुझ समिति बनाएपछि उनि स्वतः निलम्बनमा परेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर अधिकारीले अर्थतन्त्रलाई धराशायी बनाएको ठहर गर्दै उनीमाथि छानविन गर्न कमिटी बनाउने निर्णय गरेको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गभर्नर अधिकारीबारे विविध विषयमा प्रश्न उठेको थियो । गभर्नर अधिकारीमाथि विलासी वस्तुको आयात रोक्ने लगागतका नीतिगत निर्णय गर्नुअघि सूचना चुहावट गरेको विषयमा गम्भीर आरोप लागेको भन्दै उनीमाथि जाँचबुझ गर्न समिति बनाउने छलफल चलाइएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नरलाई पदमुक्त गर्नुअगाडि जाँचबुझ गर्न समिति गठन गर्नुपर्ने हुन्छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २२ मा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त गर्न जाँचबुझ समिति गठन र त्यसको सिफारिस अनिवार्य हुने व्यवस्था छ । 

अर्थ मन्त्रालयले शुक्रबार सोही व्यवस्थाअनुसार पुर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहेको ३ सदस्यीय जाँचबुझ समिति बनाएको छ । सो समितिलाई एक महिनाभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ । गभर्नर अधिकारी निलम्बनमा परेपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.