निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जालमा प्रचार गर्न छुट

0

काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गरेको छ । 

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि आयोगले सरकार, संवैधानिक निकाय, राजनीतिक दल, उम्मेदवारका साथै मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो । 

स्थानीय तह निर्वाचनको ३५ दिनअघिबाट आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गरे कारबाही गरिने चेतावनी दिए ।

आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लगाएको छ । योजनाको शिलान्यास, उद्घााटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिनसमेत पाइँदैन । 

सामाजिक सञ्जालमा भने उम्मेदवार र दलले प्रचार गर्न पाउनेगरी आयोगले सामान्य संशोधन गरेको छ । 

आचारसंहितामा चुनावी प्रचारको सीमा तय गरिएको छ । रातको समयमा चुनाव प्रचार गर्न पाइने छैन । उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ । 

आचारसंहित अनुसार निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न पाइँदैन । सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत मिल्दैन । 

उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको तीन/तीन फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्नमात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ । 

वैशाख ३० गते हुने चुनावका लागि १० वैशाखमा उम्मेदवारी दर्ता हुने छ।

Leave A Reply

Your email address will not be published.