प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गरेका हुन् । त्यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले विदाइ गरेको थियो ।

प्रधानमन्त्री देउवालाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुगेका थिए । उनी भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

त्यसपछि प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्ने तालिका रहेको छ । प्रधानमन्त्री देउवासँग शुक्रबार अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.