यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री भएको ९ महिनापछि बल्ल उनी औपचारिकरुपमा विदेश भ्रमणमा जान लागेका हुन् । 

भारत भ्रमण अवसरमा रेल्वे उद्घाटनसँगै सीमा सुरक्षाको विषयमा छलफल हुने भएको छ । 

प्रधानमन्त्री देउवा चैत्र १८ गते अपरान्ह ४ बजेतिर भारत भ्रमणका लागि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । 

भारतीय अधिकारीहरुबाट विमानस्थलमा स्वागतपछि उनी सिधा दिल्लीको चाणक्यपूरीस्थित होटल मौर्य आईसीटी पुग्नेछन् । उनीसहित विशिष्ट पाहुनाहरुको बासको व्यवस्था त्यही होटलमा मिलाइएको छ । 

१८ गते साँझ नेपाली दूतावासले प्रधानमन्त्री देउवाको सम्मानमा रात्रि भोज कार्यक्रम तय गरेको छ । भ्रमणको दोस्रो दिन सनिबार प्रधानमन्त्री देउवा औपचारिक भेटवार्तामा व्यस्त हुनेछन् । 

शनिबार उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठक गर्नेछन् । देउवा र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यममा जनकपुर–जयनगर रेल्वेको उद्घाटन समेत गर्नेछन् ।

भारतीय समकक्षीसँग देउवाको विभिन्न विषयमा औपचारिक कुरकानी समेत हुनेछ । भ्रमणका क्रममा सीमा समस्या, बिजुली आयात/निर्यात, मलको सहज आपूर्ति, व्यापार लगायतका विषय छलफल हुनेछ । 

शनिबारै हैदरावाद हाउसमा मोदीले दिवा भोज आयोजना गर्ने छन् । देउवाले भारतीय विदेश मन्त्री एस.जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग र उपराष्ट्रपति एम.वेंकय्य नायुडसँग भेटघाट गर्ने छन् । शनिबारै साँझ भारतीय उद्योगी व्यवापारीहरुसँगको अन्तरक्रिया होटल मौर्यमा हुनेछ ।

आइतबार बिहान देउवा उत्तर प्रदेशको बनारसका लागि प्रस्थान गर्नेछन् । देउवाले त्यहाँ काशी विश्वनाथ मन्दिर, नेपाली पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । आइतबार अपरान्ह देउवा स्वादेश फर्कने छन् । 

देउवाको भ्रमणमा पराष्ट्रमन्त्री डा नारायण खड्का,आरजु देउवा र केही अन्य मन्त्री सहभागी हुनेछन् । विषयगत मन्त्रालयका सचिव तथा सरकारी अधिकारीहरु, प्रधानमन्त्रीको निजी सचिवालय, निजी क्षेत्र र संचार माध्यमका प्रतिनिधिहरु पनि टोलीमा सहभागी हुने छन् ।

Leave A Reply

Your email address will not be published.