चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा, यस्ता छन् भ्रमण कार्यक्रम

0

काठमाडौं : चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । 

विदेशमन्त्री वाङसहितको १९ सदस्यीय उच्चस्तरीय भ्रमण टोली शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । 

पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर वाङ नेपाल आएका हुन् । विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च् पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।

विदेशमन्त्री वाङ उनको सुरक्षामा प्रहरीको विशेष टोली तैनाथ गरेको छ । भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिएको छ । 

उनी बिमानस्थलबाट बत्तीसपुतलीस्थित होटेल द्वारिकाज पुगेका थिए । 

भ्रमणको दोस्रो दिन शनिबार बिहान विदेशमन्त्री वाङ शिवपुरी हाइकिङ जाने कार्यक्रम छ । 

त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाटको कार्यक्रम रहेको छ । त्यही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । 

शनिबारै उनी सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । 

विदेशमन्त्री वाङले भ्रमणकै दौरानमा काठमाडौंबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणको तेस्रो दिन आइतबार बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नेछन भने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नक्सालस्थित होटेल मेरियटमा भेट गर्नेछन । आइतबार नै विदेशमन्त्री वाङ चीन फर्कने छन् ।

Leave A Reply

Your email address will not be published.