केन्द्रबाटै गठबन्धन गर्न नहुनेमा कांग्रेस केन्द्रीय सदस्यहरुको जोड

0

काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् । 

बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरुले मत राखिरहेको बताए । पार्टीभित्र सर्वसम्मत निर्णय गराएरै टुंगोमा पुगिने प्रवक्ता डा. महतले बताए ।

बैठकमा बोल्ने केन्द्रीय समिति सदस्यहरुले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेको उनले जानकारी दिए । 

प्रवक्ता डा. महतले नेपाल विद्यार्थी संघमा अध्यक्ष तोकिएको विषयलाई विवादित भनेर सम्प्रेषण गर्नु आवश्यक नरहेको बताए । पार्टी सभापति देउवाले पार्टीसँग सरसल्लाह र सुझाव लिएरै निर्णय भएको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.