चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै

0

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । उनी शुक्रबार साँझ छ बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ पच्चिस सदस्यीय टोलीको नेतृत्व गर्दै आउन लागेका हुन् । टोलीमा चीनका परराष्ट्र, उर्जा, सुरक्षा, अर्थ र वाणिज्य मन्त्रालयका प्रतिनिधि सहभागी छन् । 

वाङको शुक्रबार साँझ कुनै पनि उच्चस्तरीय भेटवार्ता हुने छैन । यद्यपि उनले आएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र दूतावासका अधिकारीसँग ब्रिफिङ लिनेछन् । 

शनिबार बिहान परराष्ट्रमन्त्री डा खड्कासँग वाङले दुई पक्षीय भेटवार्ता गर्नेछन् । खड्काले शनिवार नै वाङलाई दिवाभोज दिने कार्यक्रम छ । त्यही समय नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ । 

भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

त्यसपछि आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पालैपालो भेट्ने कार्यक्रम छ ।

आइतबार दिउँसो तीन बजे उनी बेइजिङ उड्ने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.