एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको प्रतिवेदन पारित, उम्मेद्वार छनोटका लागि ६ मापदण्ड

0

काठमाडौं : नेकपा एमालेको केन्द्रीय समितिको बैठक अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ ।

सदस्यहरुले दिएका सुझाव समेटेर प्रतिवेदन सार्वजनिक गर्ने बैठकले निर्णय गरेको हो ।

बैठकले उम्मेदवारको मापदण्ड पारित गर्दै आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।

एमालेले उम्मेदवार बन्न ६ वटा मापदण्ड तय गरेको छ ।

स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

त्यस्तै, उम्मेदवार सिफारिस गर्नका लागि वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँकमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख/उपप्रमुखको हकमा गाउँ/नगरकमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर/ महानगरकमिटीको हकमा सम्बन्धित कमिटीहरुको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने उनले बताए ।

बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसमेत लिएको छ । एमालेले घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

बैठक समापन गर्दै अध्यक्ष ओलीले एउटै लयका साथ जनताको घर दैलोमा जान निर्देशन दिएका छन् ।

त्यसक्रममा अध्यक्ष ओलीले विचार, दृष्टिकोण र संगठनका हिसावले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने राजनीतिक दलहरु नभएको बताएका थिए । बैठकमा सातै प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए ।

Leave A Reply

Your email address will not be published.