सरकारद्वारा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित

0

काठमाडौं : सरकारले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो । 

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए । 

बैठकमा गृहमन्त्री खाँणले सुरक्षा निकायलाई निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिए । बैठकमा स्थानीय तहको निर्वाचनमा अपनाउनु पर्ने रणनीति र समसामयिक सुरक्षा स्थितिबारे पनि छलफल भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

साथै बैठकमा गृहमन्त्री खाँणले शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न पनि सुरक्षा प्रमुखहरूलाई निदेर्शन दिएका छन् । 

बैठकमा भ्रमण शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफूहरूले कार्ययोजना बनाएको सुरक्षा प्रमुखहरूले बताएका थिए । 

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलसहितको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.