चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका क्रममा एक दर्जन समझदारी गर्न गृहकार्य

0

काठमाडौं : सरकारले चीनका विदेशमन्त्री वाङ यीको शुक्रबारबाट हुने नेपाल भ्रमणका क्रममा करिब एक दर्जन विषयमा समझदारी गर्न गृहकार्य गरेको छ । 

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच शनिबार औपचारिक रूपमा द्विपक्षीय वार्ता भएपछि १० देखि १२ वटा विषयमा दुई मुलुकबीच सहमति गर्ने तयारी गरिएको हो । 

नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, रसुवागढी र तातोपानीबाहेक कोरलको औपचारिक सुरुवात गर्नेलगायत विषय अघि बढाउने तयारी छ । 

चीनले पनि बीआरआई कार्यान्वयन सम्झौता अघि बढाउन परराष्ट्रमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ । 

नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि वस्तुगत प्रगति हुन सकेको छैन । नेपालले बीआरआईबाट ऋण नभएर अनुदान लिन चाहेको छ । 

अनुदान दिन मिल्ने वा नमिल्ने भन्नेबारे चीनसँग छलफल भइरहेको बताइएको छ । दुई मुलुकबीच ५० भन्दा बढी विषयमा सहकार्य गर्ने सम्झौता गरिएकामा अधिकांश कार्यान्वयन भएका छैनन् । 

तीनदिने औपचारिक भ्रमणका लागि विदेशमन्त्री शुक्रबार बेलुकी नेपाल आइपुग्ने तालिका छ । वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

उनले प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.