केन्द्रीय कमिटी बैठकमा ओलीले पेश गरे प्रतिवेदन : निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने दाबी

0

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

विभिन्न पाँच बुँदामा समेटिएको उक्त प्रतिवेदनमा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने दाबी गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा जितका लागि एमालेसँग पर्याप्त आधार रहेको पनि बताएका छन् ।

पार्टीप्रतिको जनविश्वास दिनप्रतिदिन बढ्दै जानु जितको मुख्य आधार हो भन्दै ओलीले पाँच दलीय गठबन्धनका कारण एमाले डरायो भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको उल्लेख गरेका छन् ।

मोर्चा सामर्थ्यको प्रतीक नभइ कमजोरीको द्योतक भएको भन्दै ओलीले घेराबन्दी, आक्रमण र दुष्प्रचारबीच जित निकाल्ने दाबी गरेका छन् ।

ओलीले एमाले विभाजित भए पनि जनविश्वास अखण्डित र अक्षुण्ण रहेको पनि तर्क गरेका छन् । गठबन्धनका कारण एमालेलाई अप्ठ्यारो पार्न खोजिए पनि गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरूरी रहेको ओलीले उल्लेख गरेका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी बीच गठबन्धन हुँदा पनि एमाले पहिलो दल बनेको स्मरण गराउँदै ओलीले निर्वाचनमा एमालेको विजय निश्चित रहेको दाबी पनि गरेका छन् ।

त्यसअघि बैठकमा सातवटा प्रदेशका अध्यक्षले आफ्नो प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

उनीहरुले स्थानीय चुनाव लक्षित पार्र्टीको तयारी तथा सम्भावित नतिजाको आँकलनसहित रिपोर्टिङ गरेका हुन् ।

बैठकमा प्रदेश अध्यक्षहरुले पार्टी प्रति जनआकर्षण बढेको, आधारभूत तहदेखिकै कमिटीहरु चलायमान भएको र फुटको असर अत्यन्त न्यून रहेको रिपोर्टिङ गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजाले जानकारी दिए ।

बैठकमा गठबन्धन हुँदा र नहुँदाको चुनावी परिणामबारे समेत छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.