होली पर्व : सुरक्षा कडा, तीन हजार पाँच सय प्रहरी परिचालन, जथाभावी रङ दल्नेलाई कारबाही

0

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व फागुलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार तीन सय ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ । दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 

फागु मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित फागु बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ । 

उपत्यकामा बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, चौध वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको जनाइएको छ । 

उच्छ्रिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ । 

यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ । 

फागु पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ जाँच गरिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.