प्रतिनिधिसभा बैठक बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

0

काठमाडौं : प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो बस्दैछ । संसदको दशौँ अधिवेशनको ११ औँ बैठक बस्न लागेको हो । 

आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सम्भावित कार्यसूची छ । 

संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधिश जवराविरुद्ध महाभियोग दर्ता गराइएको थियो । 

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८’ पेस गर्ने समेत उल्लेख छ । 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको निलम्बनसम्बन्धी सूचना टाँस गर्नुपर्ने एमालेको माग छ । 

अन्यथा, सभामुखले मार्गप्रशस्त गर्नुपर्ने एमालेको अडान छ । सभामुखले भने अवरोधकै बीच बैठकका काम–कारबाही अघि बढाउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.