रुसद्वारा दुई सय भन्दा बढी सामग्री निर्यातमा रोक

0

एजेन्सी : रुसले सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न दुई सय भन्दा बढी सामग्री निर्यातमा रोक लगाएको छ । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।

रुसको प्रतिबन्धले अमेरिका र युरोपेली युनियनसहित करिब ४८ देश प्रभावित हुनेछन । रुसले दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लगाएको हो ।

रुसी निकासी प्रतिबन्धमा दुई सय भन्दा बढी उत्पादनहरू समावेश छन् । यस्तो प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम रहने बताइएको छ । रुसको अर्थ मन्त्रालयले रुसी बन्दरगाहमा विदेशी पानी जहाजहरूलाई प्रतिबन्ध लगाउने तयारी समेत भैरहेको जनाएको छ ।

मैत्रीपूर्ण व्यवहार नगर्ने देशमाथि अर्थतन्त्रका प्रमुख क्षेत्रको निर्बाध कार्य सुनिश्चित गर्ने उद्देश्यले प्रतिबन्ध लगाएको जनाएको छ । रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिनले प्रतिबन्धमा रुसमा सञ्चालित विदेशी कम्पनीले बनाएका सामानको निर्यात पनि समावेश हुने बताएका छन् ।

त्यस्ता वस्तुमा कार र रेलका कन्टेनरहरू पनि समावेश छन । रुसका पूर्व राष्ट्रपति दिमित्री मेद्भेदेभले रुसबाट बाहिरिएका पश्चिमी कम्पनीहरूको स्वामित्वमा रहेको सम्पत्तिलाई राष्ट्रियकरण गर्न सकिने चेतावनी दिएलगत्तै सरकारको यस्तो निर्णय आएको हो ।

रुसमा अहिले औद्योगिक तथा खनिज क्षेत्रका ठूला बहुराष्ट्रिय कम्पनीहरूले सामूहिक लगानी रोकेका छन । बुधवार मस्कोले अनुमोदन गरेको एउटा कानुनले देश छोड्ने विदेशी कम्पनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने उल्लेख छ ।

पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन । त्यस्तै उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिननजिक मानिने रुसी अर्बपतिविरुद्ध पनि त्यस्ता आर्थिक प्रतिबन्धलाई केन्द्रित गरेका छन् ।

Leave A Reply

Your email address will not be published.