निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल हुन्छ : प्रधानमन्त्री देउवा

0

वीरगञ्ज : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल हुने बताएका छन् । 

नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन दलहरूबीच तालमेलबाट सहज हुने बताएका हुन् । 

आफू गठबन्धनकै कारण प्रधानमन्त्री बनेको उदाहरण पटकपटक दोहोर्‍याँदै देउवाले गठबन्धन दलका नेताहरुलाई अनावश्यक रुपमा नचिढ्याउन समेत आग्रह गरे ।

देउवाले यसअघि पनि पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई गठबन्धनको विपक्षमा नबोल्न भनेका थिए । 

आउँदो निर्वाचनका लागि कसरी जाने भन्नेबारेमा सबै पार्टीमा छलफल हुने उल्लेख गर्दै सबैको सहयोग लिन जरुरी हुने उनको भनाइ थियो ।

यस्तै प्रधानमन्त्री देउवाले हालै संसद्बाट पारित भएको एमसीसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे ।

उनले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने बताए ।

त्यस्तै प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए ।

Leave A Reply

Your email address will not be published.