फागु पर्व विधिवतरुपमा शुरु, बसन्तपुरमा ठड्याइयो चीर

0

काठमाडौं : रंगहरुको पर्व फागु बिहीबारबाट विधिवतरुपमा शुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर फागुको विधिवतरुपमा शुरु भएको हो ।

बिहीबार बिहान हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सात बजेर २७ मिनेटको साइतमा चीर ठड्याइएको छ ।

पर्व परम्परा अनुसार फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।

पहिले–पहिले आठै दिन धुमधामसँग एकाआपसमा रंग, अबिर छ्यापी होली खेलेर वसन्तऋतुको स्वागत गर्ने चलन रहेको संस्कृतिविद्हरू बताउँछन् ।

चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत्र तीन गते र तराई भेगमा चैत्र ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि फागु पर्व सकिन्छ ।

Leave A Reply

Your email address will not be published.