विभाजित कम्युनिष्ट पार्टी हरियो रंगसँग डराए : कांग्रेस

0

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसले फुटेका कम्युनिष्टहरु हरियो रंगसँग डराएको बताएको छ । बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विभाजित कम्युनिष्ट पार्टी हरियो रंगसँग तर्सिएको बताएका हुन् ।

यसअघि मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चुनाव चिह्न रुखको हरियो रंगका आधारमा मतपत्रको रंग हरियो बनाउन लागिएको भन्दै आपत्ति जनाएका थिए । यसैको जवाफमा कांग्रेस महामन्त्री शर्माले सो टिप्पणी गरेका हुन् ।

उनले मतपत्र र चुनाव चिन्हको रंग निर्वाचन आयोगले छनोट गर्ने भन्दै यो राजनीतिक दलको अधिकारको विषय नभएको पनि प्रष्ट पारे ।

त्यस्तै पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा अरू दलहरूसँग तालमेल गर्ने वा नगर्ने अब बस्ने केन्द्रीय समितिबाट निर्णय गरिने जानकारी दिए ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावसम्म गठबन्धन रहने संकेत गरेको बताए । साथै प्रवक्ता महतले हरियो रंगमा आपत्ति नजनाउन एमालेलाई आग्रहसमेत गरे ।

Leave A Reply

Your email address will not be published.