अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

0

काठमाडौं : ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मंगलबार विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । 

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । 

सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् । 

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी हुन् । 

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन् । 

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । 

उनले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्ने तथा जीवन समर्पण गर्ने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.