झापा : नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र केही दिनमा सकिने दाबी गरेका छन् । झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०५६ सालमा नै आफूले माओवादी सकिन्छ भनेर भनेको उल्लेख गर्दै अब त्यो दिन आएको दाबी गरे ।
केही वर्षअघि आफूले पम्प लगाइदिएर हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको ओलीको भनाइ छ । उनले दाहालले चिनामा नै सिद्धिने ग्रह बोकेर ल्याएको दाबी पनि गरे ।
नेकपा एकीकृत समाजवादी पार्टीतर्फ संकेत गर्दै ओलीले माधव नेपालको पार्टी नै नबनेकोले नबनेको पार्टी कसरी सकिन्छ भनेर भन्नै नपर्ने टिप्पणी गरे । ओलीले माधवकुमार नेपालको पार्टी चिचिलामै समाप्त हुने आरोप लगाए ।
अध्यक्ष ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने एमालेको धारणा पनि सार्वजनिक गरेका छन । ओलीले कोसी सभ्यताजस्तो साझा पहिचान अरु नभएकाले प्रदेशको नामाकरण कोसी राखिनुपर्ने बताए ।
ओलीले सुखानी सहिद स्मृति दिवसका अवसरमा शनिबार झापाको सालबारीस्थित झापा विद्रोहका पाँच योद्धाको सालिकमा माल्यार्पण पनि गरेका थिए ।