युक्रेनमा रहेका नेपालीलाई सुरक्षित स्थानमा पुर्‍याउन सहजीकरण भइरहेको छ : परराष्ट्र मन्त्रालय

0

काठमाडौं : युक्रेनको सुरक्षा स्थितिलाई ध्यानमा राखि त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित ठाउँमा पुर्‍याउन सहजीकरण गर्ने कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युक्रेनमा रहेका अधिकांश नेपालीहरू सुरक्षित स्थानतर्फ स्थानान्तरण भइसकेका मन्त्रालयले जनाएको छ । हालसम्म ५११ जना नेपालीहरु सो मुलुकबाट सीमावर्ती मुलुकहरूमा पुगेका छन् । ती मध्ये पोल्यान्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना प्रवेश गरिसकेका छन् ।

उद्धार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली राजदूतावास र मस्कोस्थित नेपाली राजदूतावासलाई परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत ल्याइदिन भारत सरकारलाई अनुरोध गरिएको र भारत सरकारले सकारात्मक जवाफ दिएको मन्त्रालयले जानकारी दिएको छ ।

सो सहयोग उपयोग गर्न बर्लिनस्थित नेपाली राजदूताबासबाट ती मुलुकहरूमा रहेका भारतीय दूतावासहरूसँग समन्वय भइसकेको छ ।

रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको छ ।

त्यस्तै, त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्कन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.