एमसीसीविरुद्ध साना दलको खुलामञ्चमा विरोध, कसले के भने ?

0

काठमाडौं : प्रतिनिधिसभाबाट अनुमोदन गरिएको एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलहरूले राजधानीको खुला मञ्चमा विरोध प्रदर्शन गरेका छन् । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले संयुक्त रुपमा विरोध सभा गरेका हुन् । 

खुला मञ्चमा विरोध सभा आयोजना गर्नुअघि वामपन्थी दलहरुले विरोध र्‍यालीको आयोजनासमेत गरेका थिए ।

यस क्रममा आयोजक दलका नेताहरूले खुला मञ्चबाट एमसीसीको विरोध गर्दै यसले राष्ट्रघात भएको बताए । सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष नेत्रविक्रम चन्दले एमसीसी नेपाली जनताका लागि अस्वीकार्य रहेको बताए । 

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले ठुला दलले अमेरिकी साम्राज्यवादको दलाली गरेर चुनाव जित्न र सत्तामा टिक्न एमसीसी स्वीकार गरेको बताए । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकालाई खुशी पार्न नेपालका शासकहरुले षडयन्त्रमुलक ढंगले एमसीसी संसदबाट पास गरेको आरोप लगाए ।

कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल,  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल, कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले एमसीसी संसदबाट पारित हुँदैमा यो लागू नहुने बताए । 

एमसीसी सदनबट पारित भएको विरोधमा साना दलहरुले आगामी चैत्रसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 

Leave A Reply

Your email address will not be published.