राष्ट्रसंघको महासभामा नेपालद्वारा रुसको विरुद्ध मतदान

0

काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस–युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक मतदान प्रक्रियामा सहभागी भएनन् । 

सो क्रममा नेपालले रुस र युक्रेनलाई वार्तामाफर्त शान्ति स्थापना गर्न आग्रह गरेको छ । हिंसाले थप हिंसा निम्त्याउने उल्लेख गर्दै नेपालले शान्ति स्थापनाका लागि अर्को विकल्प नभएको बताएको छ ।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्नेसम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो । 

राष्ट्रसंघमा कुल १९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्मा ४७ देश सदस्य छन् । 

यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्मा नेपाल छैन। सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र छन् । 

राष्ट्रसंघमा रहेका १९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए । 

त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आह्वान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणासहित विशेषसभाको आयोजना गरिएको थियो । 

Leave A Reply

Your email address will not be published.