शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

0

काठमाडौं : शेर्पा समुदायले बिहीबार ग्याल्पो ल्होसार मनाउँदैछन् । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् । शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

यो पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खान्छन् । आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्छन् ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुंग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको बताइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन् ।

शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी छन् ।

नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरेकी छन् ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैं क्रियाशील रहेको बताएका छन् ।

ग्याल्पो ल्होसारको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित एवं धार्मिक, सांस्कृतिक पर्व र परम्पराको संरक्षणमा सरकार क्रियाशील रहेको बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.