लगातार संसद अवरोध गरेपछि एमालेप्रति विभिन्न दलका सांसदहरुले पोखे आक्रोश

0

काठमाडौं : लगातार संसद अवरोध गरेपछि विभिन्न दलका नेताहरुले एमालेप्रति आक्रोश पोखेका छन् । काम गर्न नदिने तर सांसद भत्ता भने नछाड्ने एमालेको प्रवृत्ति गैरजिम्मेवार भएको भन्दै आक्रोश पोखेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद अवरोध गरेर जनताप्रति विश्वासघात गरेको आरोप लगाउँदै आउने चुनावमा एमालेले यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताए । भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोपसमेत लगाए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले नेकपा एमाले संसद अवरोध गर्नुको कुनै तुक नरहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको बीचमा आफ्नो संसद विघटनको निर्णय सही थियो भन्ने सावित गर्न खोजेको आरोप लगाए ।

त्यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद नचल्नु सत्तापक्षको लागि ठूलो र गम्भीर विषय भएपनि अहिलेको सरकार र सभामुखले त्यसलाई गम्भीर रुपमा नलिएको आरोप लगाए ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्ध सत्तापक्षले ल्याएको महाअभियोग पास गर्न नभइ दर्ताका लागि मात्र ल्याएको बताए । उपनेता नेम्वाङले प्रधानन्यायाधीश जबराविरुद्ध छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरिएको र यस बारेमा अहिलेसम्म नेकपा एमालेसँग कुरा नभएको दाबी समेत गरे ।

दोस्रो पटक प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै नेकपा एमालले ६ महिनादेखि लगातार संसद बैठक अवरोध गर्ने प्रयास गर्दै आएको छ । संसदका काम कारबाहीमा सहभागी नभए पनि एमाले सांसदहरुले भत्ता भने बुझिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.