भूपू ब्रिटिस गोर्खाको मागबारे बेलायतसँग वार्ता गर्न नेपालद्वारा समिति गठन

0

काठमाडौं : सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागबारे बेलायतसँग छलफल गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले बेलायत सरकारसँग वार्ता गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यता राजदूत आचार्यले पनि भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका माग सम्बोधनका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै शुरु हुने जानकारी दिएका छन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्नो सम्मानमा लन्डनमा गरेको एक कार्यक्रममा बोल्दै राजदूत आचार्यले सो जानकारी दिएका हुन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले भूतपूर्व गोर्खाहरुको लडाईं कुनै धर्म, जातजाति, रंगभेदको नभइ समानता र नेपाल राष्ट्रको स्वाभिमानका लागि भएको उल्लेख गर्दै नयाँ राजदूतबाट गोर्खा माग सकारात्मक ढंगले अगाडि बढ्नेमा विश्वास व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.