सैनिक मञ्च टुँडिखेलमा मनाइयो सेना दिवस

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित वार्षिक पत्रिकाका ‘सिपाही–२०७८’  र ‘ग्लोरियस पास्ट अफ नेपाली आर्मी’ पुस्तक विमोचनका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने अमल्दार वसन्तकुमार चन्द  र द्वितीय हुने सुवेदार किसान पौडेललाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिन् ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ  गरेको थियो । बढाइँ कवाजअन्तर्गत राइफलद्वारा पाटा–पाटा लहरे र एकट्ठा प्रस्तुत गरियो ।

सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । त्यस क्रममा स्वस्तिक चिह्न, शिव वन्दना र राष्ट्रभक्ति भावको गीत सङ्गीतसमेत प्रस्तुत भयो । सैनिक मञ्चमा मास पिटीका साथैै तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । समारोहमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरियो ।

Leave A Reply

Your email address will not be published.