युक्रेनमाथि रुसको आक्रमण जारी

0

एजेन्सी : रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु युक्रेनको राजाधानी किभतर्फ पठाएको छ ।

रुसी लडाकु गाडीहरुको लामो लाइन युक्रेनको राजधानी किभ तर्फ जाँदै गरेको स्याटेलाइट तस्बिरमा देखिएको हो ।

स्याटेलाइट तस्बिर लिने कम्पनी म्याक्सर टेक्नोलोजीका अनुसार रुसी बख्तरबन्द गाडीको लाइन ६४ किलोमिटर भन्दा बढी लामो रहेको छ ।

यस्तै रुसले आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर बेलारुसको दक्षिणी क्षेत्रमा तैनाथ गरेको छ । सो स्थान युक्रेनसँगको सीमा भन्दा ३२ किलोमिटरको दूरीमा छ ।

स्थल तथा हवाईसँगै मिसाइल आक्रमण गरिरहेको रुस राजधानी किभतर्फ अघि बढ्ने क्रममा छ । युक्रेनमा रुसी आक्रमण विगत पाँच दिनदेखि जारी छ ।

गएको बिहीबारदेखि रुसले बिना उक्साहट युक्रेनमाथि युद्ध सुरु गरेको हो । युक्रेनी सैनिक तथा स्वयमसेवी लडाकुले रुसी सैनिकलाई प्रमुख शहरमा रोक्ने प्रयास गरिरहेका छन् ।

रुसी आक्रमणको निशानामा सर्वसाधारण नागरिक आएको र रुसले युद्ध अपराध गरिरहेको युक्रेनले बताएको छ ।

युक्रेनलाई अमेरिकासहितका पश्चिमा देशले हातहतियारसहितका सैन्य सामग्रीका लागि सहयोग गरिरहेका छन् । उनीहरुले रुसमाथि आर्थिकसहितका प्रतिबन्ध लगाएर दबाब दिए पनि आक्रमण रोकिन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.