यस्तो छ महाशिवरात्रिको तयारी

0

काठमाडौं : मंगलबार महाशिवरात्रि पर्व मनाइँदै छ । शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो ।

यसपालि पशुपति मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।

शिवरात्रिमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । भीडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अनुसार भक्तजनका लागि विशेष सुरक्षा योजना बनाइएको छ । पशुपति क्षेत्रमा नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति खटिने छन् ।

यस्तै, मेला क्षेत्र र दर्शन मार्गमा सीसीटीभी क्यामरा जडान गरिने छ भने ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखिने छ । यस्तै, झण्डै ५ हजारको सङ्ख्यामा स्वयम्सेवक परिचालन गर्ने तयारी छ ।

मन्दिर दर्शनका लागि तीन वटा दर्शन मार्ग व्यवस्था गरिने छ । गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ । यस्तै, मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एयरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको छ ।

यसैगरी आवश्यता परे तिलगङ्गा राममन्दिरतर्फबाट समेत लाइनको व्यवस्था मिलाउने पशुपति क्षेत्र विकास कोषको तयारी छ ।

यस्तै महाशिवरात्रिको दिन ट्राफिक प्रहरी महाशाखाले विशेष प्रकारले ट्राफिक व्यवस्थापन गर्ने भएको छ । भक्तजन तथा दर्शनार्थीलाई समस्या नहोस् भनेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिआसपासका विभिन्न सडकलाई सवारीसाधन निषेधित गरेको छ ।

महाशाखाले चाबहिल, मित्रपार्क, गौरीघाट, कालोपुल, जय बागेश्वरी, गौशाला, रातोपुल, तिलगंगा, बत्तीसपुतली, सेतोपुल, पुरानो बानेश्वरलगायतका क्षेत्रमा सवारीसाधन निषेधित गरेको हो ।

त्यसैगरी, भक्तजन तथा सवारीसाधनलाई मध्यनजर गर्दै विभिन्न नाकाहरूबाट आवश्यकताअनुसार डाइभर्सन गर्नुका साथै सवारी प्रवेशमा रोक लगाइने महाशाखाले जनाएको छ ।

साथै, महाशाखाले सिफल चौर, गुह्येश्वरी पारि, पशुपति विकास कोषको कार्यालय, भण्डारखाल, अमलाकोट, तिलगंगा कोरिडोर र महानगरीय ट्राफिक प्रहरी वृत्त गौशालामा पार्किङ व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.