अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार गर्नुपर्छ, नगरे एमसीसी खारेज हुन्छ : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीसँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणाको कानूनी हैसियत हुने भन्दै यसले नेपालको राष्ट्रिय सुरक्षालगायत विषय स्पष्ट पारेको बताए । 

अध्यक्ष दाहालले एमसीसीको विषयलाई ठीक ढंगले ह्यान्डल गर्न नसक्दा शान्ति प्रक्रिया खतरामा पर्ने र संविधान नै डिरेल हुने खतरा देखेको दाबी गरे ।

एमसीसीका कारण शान्ति सम्झौता, संविधान र अहिलेको व्यवस्था नै उल्टिने जस्तो देखिएपछि आफूले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याएको उनको भनाइ थियो । 

प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्नुपर्ने बताउँदै स्वीकार नगरे खारेज हुने बताए ।

तत्कालीन नेकपाको सरकारको बेलामा आएर एमसीसी विवादित भएको उनको भनाइ थियो । तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिकाको भ्रमणमा गएपछि यो विवादित भएको उनले जिकिर गरे । यसलाई संसदबाट अनुमोदन गर्ने भनिएपछि विवाद भएको उनको भनाइ थियो ।

नेकपाको सरकारले संसद्‌मा दर्ता गर्दा पनि आफूले यसलाई पारित गर्ने उपाय सुझाएको उनको भनाइ थियो । 

त्यस्तै प्रचण्डले आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै स्थानीय तहको निर्वाचन सुनिश्चित भएको बताए । प्रचण्डले एमसीसी पास हुने कि नहुने भन्ने अन्योलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.