युक्रेनमा १९३ जना नेपाली दूतावासको सम्पर्कमा, राजधानी र पूर्वी क्षेत्रबाट सुरक्षित ठाउँतर्फ जाँदै

0

काठमाडौं : युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्क भइरहेको सरकारले जनाएको छ ।

जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासले हालसम्म एकसय ९३ जना नेपाली सम्पर्कमा आएको र उनीहरु सबै सुरक्षित रहेको जनाएको हो ।

युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका पनि दुतावासले जनाएको छ ।

युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ ।

सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ ।

दूतावासले युक्रेन सरकार र सम्बन्धित कलेज/विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न पनि भनेको छ ।

युक्रेनमा रहेका नेपालीको उद्धार गर्ने विषयमा भने सरकार अलमलमै रहेको छ ।

सम्भावित उपायको खोजी भइरहेको र रुस र जर्मनीमा रहेको दूतावाससँग निरन्तर समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ ।

unn.prixa.net
Leave A Reply

Your email address will not be published.