काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा बिहीबारदेखि छलफल शुरु हुँदै छ ।
प्रतिनिधिसभाको बिहीबार दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ ।
गएको आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई बिहीबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
तर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा एमसीसीको विपक्षमा छन् ।
एमसीसी सम्झौता संसदबाट पारित गर्न कांग्रेस र लोसपा तयार भएपछि सत्ता गठबन्धनका माओवादी, एकीकृत समाजवादी र जनमोर्चालाई पनि दबाब बढेको छ ।
प्रतिनिधि सभामा एमसीसी सम्झौतालाई अघि बढाउने विषयमा सत्ता गठबन्धन दलमा विवाद भएपछि सभामुख अग्निप्रसाद सापकोटाले नै मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना छ ।
सभामुख सापकोटाले यसबारेमा बुधबार संसद् सचिवालयका कर्मचारी र पदाधिकारीसँग परामर्श समेत गरेका छन् ।
सभामुखले ध्वनि मतको आधारमा निर्णय गर्दा यकिन नहुने भएकाले मत विभाजनको बाटो रोज्न सक्ने कानुनी आधार खोजेका हुन् ।