एमसीसी पारितमा सहयोग गर्न देउवाको आग्रह, ओलीले गरे अस्वीकार

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री भेट्न प्रमुख प्रतिपक्षी दलका नेता ओली साँझ बालुवाटार पुगेका हुन् ।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामा एमालेको पोजिशन, संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ । फागुन आठ गते संसदमा टेबल भएको एमसीसीमा बुधबारदेखि छलफल हुँदैछ ।

एमालेको अवरोधका बीच एमसीसी सम्झौता प्रस्तावमा कसरी छलफल चलाउने अन्योल रहेका बेला प्रधानमन्त्रीले प्रतिपक्षी नेता ओलीलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवासँगको छलफलमा ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी थिए ।

छलफलमा प्रधानमन्त्री देउवाले ओलीसँग एमसीसी अनुमोदनका लागि आग्रह गरेको एमाले नेता विष्णु रिजालले बताएका छन् । रिजालका अनुसार जवाफमा अध्यक्ष ओलीले आफूहरुका माग सम्बोधन नभएसम्म कुनैपनि संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने बताएका थिए ।

प्रधानमन्त्री देउवा र ओलीको भेटबारे रिजालले फेसबुकमा लेखेका छन्, ‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो। हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ।’

सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यस्तोमा एमसीसी कसरी पास गर्ने, संसदको गतिरोध अन्त्य कसरी गर्ने भन्नेमा एमाले निर्णायक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.