गठबन्धनले अझै निर्वाचन नगराउने षड्यन्त्र गर्न सक्छ : ओली

0

काठमाडौं : नेकपा एमालेको स्थानीय तह चुनाव केन्द्रित देशव्यापी अभियान शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अभियानको शुरुवात गरेका छन् ।

सो क्रममा उनले सातवटै प्रदेशमा अभियान केन्द्रित प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जानकारी दिए । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले चुनाव केन्द्रित भएको हो ।

अध्यक्ष ओलीले अहिले पनि निर्वाचन नगराउने षड्यन्त्रहरू भइरहेको बताए । तोकिएकै समयमा निर्वाचन गराउनका लागि केही तत्त्वहरू लागिरहेका भन्दै उनले नेता कार्यकर्तालाई सजगताका साथ लाग्न आग्रह गरे ।

अध्यक्ष ओलीले जनदबाब सिर्जना गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सफल भएको बताए ।

उनले स्थानीय तहमा एमालेको बर्चस्वले गठबन्धन सरकारलाई बिझाइरहेको बताए । गठबन्धनका नेताहरू र गठबन्धन सरकारले स्थानीय तहको महत्त्व बुझ्न असमर्थ रहेको उनको भनाइ थियो ।

स्थानीय तहप्रति गठबन्धन सरकारको नकारात्मक दृष्टिकोण रहेको पनि उनले बताए ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे । गठबन्धनसँग लडेरै बहुमत ल्याउने दाबी गर्दै उनले भाग्न ठाउँ भए भाग्न चुनौती दिए । उनले प्रदेश र संघीय निर्वाचनमा पनि आफूहरूले बहुमत ल्याउने दाबी गरे ।

अमेरिकी सहायता परियोजना एमसीसीबारे सत्ता गठबन्धनकै नेताले दिएको विरोधाभाष पूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन कोसिस गरेको उनले बताए ।

एउटा नेता पक्षमा बोल्ने, अर्को विपक्षमा बोल्ने बताउँदै अध्यक्ष ओलीले एमसीसी परियोजना सम्बन्धमा दृष्टिकोण के हो भनेर सत्ता गठबन्धनलाई प्रश्न गर्दा कुनै जवाफ नआउने बताए ।

Leave A Reply

Your email address will not be published.