मकर मेलामा स्नान गर्नेको घुइँचो बढ्यो

0

काठमाडौं : माघ १५ यतादेखि धार्मिक आस्थाको केन्द्र पनौती त्रिवेणीघाटस्थित बाह्र वर्षमा लाग्ने ऐतिहासिक बाह्रवर्षे मकर मेलामा स्नान गर्नेको घुइँचो बढ्न थालेको छ । 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ र ७ को सङ्गमस्थल पनौती त्रिवेणीघाट क्षेत्रमा सञ्चालन भइरहेको मकर स्नानको समय  तीन दिनमात्रै बाँकी रहँदा मकर स्नान गर्न आउने दर्शनार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको हो । 

सो क्षेत्रमा बाह्रवर्षे मकर स्नान अवधिभर दिवङ्गत आत्माको सम्झनामा श्राद्ध गर्नले आत्मा शान्ति मिल्ने जनविश्वासका साथ त्रिवेणी घाटको पूर्वपट्टि रहेको रोशीखोला किनारमा श्रद्धालुहरूको उत्तिकै भीड रहेको छ ।

करिब एक हप्तादेखि बढ्दै गएको घुइँचोका कारण पनौतीस्थित त्रिवेणीघाट क्षेत्र र गोरखनाथडाँडामा मानिसको चहलपहल निकै बढेको छ । 

कोरोना जोखिमका कारण सुरु सुरुमा न्यून सहभागिता रहेको मकर स्नानमा माघ १५ यता दैनिक हजारौँ भक्तजन पनौती आउने गरेका मकर मेला मूल आयोजक समितिले जनाएको छ । 

कोरोना सङ्क्रमणदर घट्दै गएको कारण पनि भक्तजनको सहभागितामा वृद्धि हुँदै गएको समितिले बताएको छ । 

मेलामा भक्तजनको चाप बढ्दै गएपछि सुरक्षा सतर्कता पनि बढाइएको छ । नेपाल प्रहरी सशस्त्र, नगरपालिकाले स्वयंसेवकहरु पनि ठूलो मात्रामा खटाइएको छ । 

आयोजकका अनुसार बिदाको दिनमा एक लाख बढी भक्तजन आउने गरेका छन् । मेलाका लागि पनौती जानेको संख्यामा वृद्धि भएसँगै सो बनेपा–पनौती सडकखण्डमा सवारीसाधनको चाप बढ्दै गएको छ । मेला आगामी माघ २९ गतेसम्म चल्नेछ ।

Leave A Reply

Your email address will not be published.