एमसीसी विवादले चल्न सकेन संसद, बुधबारका लागि बोलाइएको बैठक पनि स्थगित

0

काठमाडौं : प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक पनि स्थगित भएको छ । सरकारको आग्रहमा बुधाबार बोलाइएको बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए भने संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

तर अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति हुन नसकेपछि संसद बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

एमसीसी पारित गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लागिपरेका छन् । तर पाँच दलीय सत्ता गठबन्धनमा भने एमसीसी पारित गर्ने विषयमा सहमति हुन सकेको छैन ।

एमसीसी संसदमा टेबुल गर्ने विषयमा सबैको नजर सभामुख अग्निप्रसाद सापकोटातिर अडिएको छ । एमसीसी यथास्थितिमा पारित नगर्ने पक्षमा रहेका सभामुख सापकोटा कांग्रेसको पारित गर्ने योजनामा तारो बन्दै आएका छन् । तर सत्ता गठबन्धन फुट्ने त्रासले प्रधानमन्त्री देउवा सकेसम्म सत्ता साझेदार दलबीच सहमति गरेर एमसीसी पारित गर्ने दाउमा छन् ।

बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने प्रधानमन्त्री देउवाको तयारी थियो । तर एमसीसीबारे सहमति हुन नसकेपछि बुधबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको हो । 

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाइसकेका छन् । तर, सभामुख सापकोटाले माहोल राम्रो नभएको भन्दै टेबुल नगर्ने अडान लिइरहेका छन् ।

एमसीसी विवादले पटक पटक प्रतिनिधिसभा बैठक स्थगित हुँदा कयौं विधेयकहरु अलपत्र परेका छन् । एमसिसीको अन्यौल र प्रतिपक्षीको लगातारको अवरोधले लामो समयदेखि संसद बस्न नसक्दा महत्पूर्ण विधेयकहरु अलपत्र परेका हुन् । त्यसमाथि सरकारले समयमै प्रतिस्थापन विधेयक ल्याउन नसक्दा कयौं कानूनहरु निष्क्रिय हुने निश्चित भएको छ ।

Leave A Reply

Your email address will not be published.