कोभिड खोपविरुद्धको प्रदर्शन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

0

एजेन्सी : कोरोना भाइरस संक्रमणलाई लिएर लागू गरिएको प्रतिबन्धको विरोधमा प्रदर्शन चर्केपछि क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । 

ओटावाका नगरप्रमुख जीम वाट्सनले एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले गरेको प्रदर्शन जारी रहेपछि आपतकाल घोषणा गरेका हुन् । 

आपतकालीन अवस्थाले अग्रमोर्चा र आपतकालीन सेवाका कर्मचारीहरूलाई आवश्यक सामान आपूर्तिका लागि सहरलाई थप शक्तिहरू प्रदान गर्नेछ । 

नगरप्रमुख वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएका छन् । प्रदर्शनकारीहरूले असंवेदनशील व्यवहार गरेको उनको आरोप छ । 

प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेका थिए । प्रदर्शनहरूले शहरका बासिन्दाको सुरक्षामा असर पुर्‍याएको पनि नगरप्रमुखको आरोप छ । 

ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन् । ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै प्रदर्शन शुरु भएको हो । 

प्रहरीले प्रदर्शनले अतिवादी मतलाई आकर्षित गरिराखेको जनाएको छ । क्यानडाका एक लाख २० हजार ट्रक चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन् । 

सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन् ।

Leave A Reply

Your email address will not be published.