देउवा र दाहालले एमसीसीलाई पठाएको पत्रमा के छ ?

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट पारित गराउन चार महिनापहिले नै सहमति भएको खुलेको छ ।

सहमतिअनुसार नै देउवा र दाहालले मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धता पत्र पठाएका थिए ।

पत्र सार्वजनिक भएसँगै फेब्रअरी २८ अर्थात आगामी फागुन १६ गते भित्रै एमसीसी पारित गराउन सरकारलाई दबाब बढेको छ ।

गत कात्तिकमा जलवायु सम्बन्धी ग्लास्गो सम्मेलनबाट फर्कने क्रममा प्रधानमन्त्री देउवाले एमसीसीबारे दाहालको हस्ताक्षरसहित संयुक्त पत्र पठाएको बताएका थिए । त्यो पत्र हालै सार्वजनिक भएको हो ।

हालै एमसीए नेपालमार्फत सार्वजनिक गराईएको पत्रमा एमसीसी पारित गर्न ४/५ महिनाको समय मागिएको छ ।

दुवै नेताले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते एमसीसी बोर्डलाई पत्राचार गरेका हुन् । एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पठाइएको संयुक्त पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्न दुवै नेताले प्रतिवद्धता जनाउँदै चार/पाँच महिनाको समय माग गरिएको छ ।

एमसीसी बोर्डलाई पत्र लेख्दै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी संसदबाट अनुमोदनका लागि मागेका छन् । संसदबाट एमसीसी अनुमोदनका लागि आवश्यक वातावरण बनाउन चार/पाँच महिना चाहिने दुई नेताले पत्रमा लेखेका छन् ।

पत्रमा उनीहरुले एमसीसी बोर्ड उपाध्यक्ष फातिमा जी सुमारसँग नेपालमा छलफल भएको उल्लेख गर्दै एमसीसी संसदबाट अनुमोदन गराउने प्रतिवद्धता जनाएका छन् ।

एमसीसीका बारेमा रहेका भ्रम र आशंका हटाउन सरकारले सार्वजनिक बहसका कार्यक्रम गर्ने साथै एमसीसी अनुमोदनका पक्षमा धारणा राख्न सत्ता गठबन्धनमा आवद्ध दलहरुको संयुक्त पत्रकार सम्मेलन गर्ने प्रतिवद्धता प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले गरेका छन् ।

प्रधानमन्त्री देउवा र दाहालले दुई देशबीचको लामो मित्रता र सहयोगी सम्बन्धले एमसीसी परियोजना अनुमोदनका लागि थप समय उपलब्ध हुने विश्वास गरेका थिए ।

नेपाल सरकार र अमेरिकाबीच १४ सेप्टेम्बर २०१७ अर्थात् २०७४ साल भदौ २९ गते एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो ।

Leave A Reply

Your email address will not be published.