हिमपात र हावहुरीबाट प्रभावितलाई राहत उपलब्ध गराउन गृहमन्त्री खाँणको निर्देशन

0

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जना तथा पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अप्ठ्यारोमा परेका नागरिकहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई जिल्ला र हिमाली जिल्लाका आठ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरी तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा अवस्थित फकिरचन उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा रुखको हाँगा भाचिँदा महेन्द्र सदाकी आठ वर्षकी छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका सात वर्षीय छोरा अरविन्दको मृत्यु भएको थियो ।

त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका १ मा कच्ची घर ढलेर भित्ताले च्यापिँदा ४५ वर्षीया फुलमतियादेवी रायको मृत्यु भएको थियो ।

गृहमन्त्री खाँणले धनुषा र रौतहटका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर पीडित परिवारलाई राहत दिन निर्देशन दिएका हुन् ।

उनले हिमपात, शीतलहर र हावाहुरीका घटनामा तत्काल उद्दार र राहतको व्यवस्था गर्न समेत निर्देशन दिएका छन् । वर्षा र हिमपातको असर हेरेर तत्काल व्यवस्थापन गर्न समेत उनले भनेका छन् ।

Leave A Reply

Your email address will not be published.