एमसीसीले सत्तागठबन्धनमा तरंग

0

काठमाडौं : सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई लिएर तरंग पैदा भएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुरुन्तै एमसीसी पास गर्ने पक्षमा छन् भने अन्य सत्ता साझेदार दलहरु यथास्थितिमा एमसीसी पास गर्ने मनस्थितिमा छैनन् । सोही कारण अहिले एमसीसीबारे सत्ता गठबन्धमा विवाद बढेको छ ।

अमेरिकी अधिकारीहरुले फेब्रुअरी १ तारिख (माघ १८ गते)सम्म सम्झौता संसद्बाट पारित गराउन दबाब दिएका सत्तारुढ गठबन्धनकै नेताहरुले बताउँदै आएका छन् । 

शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले फेब्रुअरी १ तारिखसम्म जसरी पनि अनुमोदनको पक्रिया अगाडि बढाउन भनेर अमेरिकीहरुले दबाब दिन थालेको भनेर ब्रिफिङ गरेका थिए । 

बैठकमा सहभागी नेताहरुका अनुसार आइतबार (माघ १६ गते) बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमै एमसीसी परियोजना पेस गर्ने देउवाको चाहना थियो । तर, शनिबार साँझ नै संघीय संसद् सचिवालयले सूचना टाँस गरी १० दिनका लागि संसद बैठक स्थगित गर्‍यो । 

देउवाले एमसीसी अनुमोदनको प्रक्रिया अगाडि बढाउन जोड दिइरहेका बेला संसद् वैठक स्थगित हुनुलाई सत्तारुढ गठबन्धनमा फाटो आएको संकेत देखिएको कतिपयको बुझाइ छ ।

Leave A Reply

Your email address will not be published.