गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद, के विषयमा भयो कुरा ?

0

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले कोराना संक्रमण, शीतलहरको अवस्था लगायतका विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

शनिबार बिहान गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरुसँग टेलिफोनमार्फत सम्बन्धित जिल्लामा कोरोना संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरण लगायतका विषयमा जानकारी लिएका हुन् ।

गृहमन्त्री खाँणले मनाङ, डडेल्धुरा, गोरखा, ताप्लेजुङ, बझाङ, सोलुखुम्बु, मुगु, खोटाङ, ओखलढुंगा, सुनसरी, उदयपुर, पाँचथर, सिन्धुपाल्चोक, इलाम, रसुवा, म्याग्दी, लमजुङ, सप्तरी, रौतहट र पर्वतका प्रजिअहरुसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।

सरकारले गत मंसिर एक गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शीतलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो । त्यो निर्देशनको कत्तिको कार्यान्वयनबारे गृहमन्त्रीले जानकारी लिएका हुन् ।

Leave A Reply

Your email address will not be published.