माधव नेपालको प्रष्टिकरण : सत्ता गठबन्धन चुनावबाट भाग्न खोजेको छैन

0

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु चुनावबाट नभागेको प्रष्टिकरण दिएका छन् । वैशाख, असार वा असोजमा जहिले चुनाव भए पनि आफूहरू सामना गर्न तयार रहेको अध्यक्ष नेपालको भनाइ छ ।  

चुनाव जहिले भए पनि एक भएर जाने कुरामा गठबन्धन भित्र सहमति रहेको उनले स्पष्ट पारे । पार्टी निकट कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको अन्तिम चरणको निर्वाचन भएको असोजलाई आधार मानेर त्यसको ६ महिना भित्र चुनाव गर्न सकिने बताए । 

निर्वाचन आयोग लगायत राज्यका निकायले आफ्नो जिम्मेवारी पूरा गरेनन् भने निर्वाचन प्रणालीलाई सुधार गर्न नसकिने उनले बताए । निर्वाचनलाई कसरी कम खर्चिलो बनाउन सकिन्छ भन्ने विषयमा सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए । 

नेपालले एमालेले विभिन्न खालका भ्रम फैल्याउने काम गरेको आरोप समेत लगाए । राष्ट्रिय सभा निर्वाचनमा समेत एमालेले पैसाको खोलो बगाएको उनको आरोप छ । अहिलेको सबैभन्दा ठुलो चुनौती नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको उनको तर्क छ । 

नेकपा एमालेलाई नेपालको राजनीतिक आन्दोलनको मूल शक्ति बनाउन धेरै संघर्ष गर्नुपरेको उनले स्मरण गरे । तर त्यसको नेतृत्वमा रहेका व्यक्तिले बाटो बिराएको कारण पार्टी फुटाउनु परेको अध्यक्ष नेपालको भनाइ छ । 

प्राप्त उपलब्धिलाई केपी ओलीले निजी स्वार्थमा प्रयोग गर्न खोज्दा नेकपा एमाले र माओवादी छुट्टिएको मात्र नभई एमाले समेत टुक्रिएको उनले बताए । 

Leave A Reply

Your email address will not be published.