राष्ट्रिय सभा निर्वाचन : १८ सिटमा गठबन्धन विजयी, एमाले एक सिटमा विजयी, क-कसले जिते ?

0

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफलता मिलेको छ । राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भए ।

तर प्रदेश १ मा एमालेका उम्मेद्वार सोनम ग्याल्जेन शेर्पा विजयी बन्दै गठबन्धनलाई क्लिन स्वीप गर्नबाट रोके ।

निर्वाचनबाट एमालेले ८ मध्ये एक पदमात्रै जोगाउन सकेको छ भने ७ पद गुमाएको छ । ७ पद कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले लिएका छन् ।

नेकपा एमाले एक सिट जिते पनि राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल नै कायम रहेको छ । एमालेसँग राष्ट्रियसभा अध्यक्षसहित १६ सांसद छन् ।

माओवादी केन्द्र दोस्रो ठूलो दल माओवादी बनेको छ । माओवादीको राष्ट्रियसभामा १५ सिट रहने छ ।

तेस्रो ठूलो दल नेपाली कांग्रेस बनेको छ । चुनावमा गठबन्धनमा ६ सिट पाएको कांग्रेसले तीन सिट थपेपछि १० सिट पुर्‍याएको छ ।

एकीकृत समाजवादी चौथो ठूलो दल बनेको छ । एकीकृत समाजवादीको राष्ट्रियसभामा ८ सिट पुगेको छ ।

एक सिट रहेको जनता समाजवादीले गठवन्धनमा २ सिट पाएको भए पनि एक सिट मात्रै थप्न सफल भयो । राष्ट्रियसभामा जसपाका दुई सांसद भएका छन् ।

राष्ट्रिय जनमोर्चा भने पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ । लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएका छन् ।

राष्ट्रियसभामा लोकतान्त्रिक समाजवादीको पनि एक सिट रहेको छ ।

क-कसले जिते ?

एमालेबाट प्रदेश १ मा सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट बागमतीमा कृष्णप्रसाद पौडेल, कर्णालीमा दुर्गा गुरुङ, गण्डकी प्रदेशमा कमला पन्त, लुम्बिनी प्रदेशमा युवराज शर्मा, प्रदेश १ मा गोपाल बस्नेत र सुदूरपश्चिम प्रदेशमा नारायणदत्त मिश्र विजयी भएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशमा जगत पार्की, गण्डकी प्रदेशमा सुरेश आलेमगर, कर्णाली प्रदेशमा नरबहादुर बिष्ट, गण्डकी प्रदेशमा भुवनबहादुर सुनुवार र मधेश प्रदेशमा उर्मिला अर्याल विजयी भएका छन् ।

यस्तै एकीकृत समाजवादीबाट प्रदेश १ मा जयन्ती राई, सुदूरपश्चिम प्रदेशमा गरिमा शाह, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशमा उदयबहादुर बोहरा र बागमती प्रदेशमा गोमा तिमिल्सेना विजयी भएका छन् ।

त्यस्तै जनता समाजावदी पार्टीबाट मधेश प्रदेशमा महमद खालिद विजयी भएका छन् भने राष्ट्रिय जनमोर्चाबाट लुम्बिनी प्रदेशमा तुलबहार विश्वकर्मा विजयी भएका छन् ।

निर्वाचन भएका १९ पदमा एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ ।

Leave A Reply

Your email address will not be published.